शिकारः
दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा बसेको म आफू विहान अफिस आउँदा घटेको रोचक घटना याद गर्न थालें :
"म गाडी बाट उत्रेर प्राय जसो अफिस नजिकैको सानो बगैचा भित्र-भित्रै हिड्दै अफिस सम्म जान्छु ।
बगैचा मनोरम भएकोले मज्जा लाग्छ |
आज बिहान त्यो बगैचामा हिड्दै गर्दा छेउको एउटा रुखवरिपरी धेरै चराहरु आत्तिएर कराई रहेको देखें |
के भएछ भनि एकछिन उब्बिएर त्यो रुख तिर यसो हेर्दै थिएँ एउटा बाज बिस्तारै उडेर छेउको अर्को रुखमा गयो |
त्यो बाजले एउटा अर्को चरालाइ आफ्नो पञ्जाले अठ्याएको थियो |
त्यो पञ्जाको चरा अझै जीवितै थियो र छट्पटाई रहेको थियो |
म नदेखे जस्तो गरि आफ्नो बाटो लाग्न सकिन र त्यो बाज बसेको रुखको फेदमा गएर हेर्न थालें |
त्यो बाजले एउटा परेवालाई आफ्नो पञ्जाले रुखको हाँगामा थिचिरहेको थियो |
मलाई त्यो परेवाको अशाध्यै माया लागेर आयो र त्यो बाजलाई डर देखाउन २/४ पटक थप्पडी बजाएँ |
त्यो बाजले मलाई हेरीरह्यो र त्यहीं बसी रह्यो |
येसरी भएन भनि मैले भुइँको ढुङ्गा टिपेर बाजलाई हानें |
बाज डराएर त्यो परेवा छोडी उड्यो | परेवा भुइंमा खस्यो |
अलिक नजिक गएर हेरेको परेवा सद्धे नै रहेछ |
बिस्तारै उठेर फुत्रुक-फुत्रुक गर्दै अरु परेवाको हुलमा मिस्सिन गयो |
बाजको पञ्जाबाट एउटा निरिह परेवालाई छुटाई उसको ज्यान बचाएकोमा म आफुले आफैलाई स्याबाशी दिदै दङ्ग परें र छाती फुलाउँदै काम तिर लागेँ | "
क्यान्टिनमा विहानको त्यो घटना सम्झी आफुले आफैलाई स्याबाशी दिदैगर्दा कतिबेला खानाको प्लेट रित्याएं यादै भएन |
अरु मानिस सरह आफ्नो सभ्यताको परिचय दिन भर्खरै खाइसकेको चिकेन-तन्दुरीका हाडहरु न्यापकिनले बटुलेर ट्र्यास-क्यानमा फ्यालें |
अनि एक चोटी "ढ्याउ" डकारेर कामतिर लागेँ |