यो पंक्तिकारले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी नलेखेको धेरै भएछ । शायद यही भएर होला, एकजना शुभचिन्तक, पाठकले सोमबार टि्वटरमा मेन्सन गरे – ‘अर्को लेख लेख्ने बेला भएछ त, यै सन्दर्भमा ।’ टि्वटरमा मेन्सन गरिएको सन्दर्भ ०७१ साल माघ १२ गते अनलाइनखबरमा प्रकाशित ‘हार्डलाइनर’को खोजीः तुलसी गिरीदेखि केपी ओलीसम्म शीर्षकको लेखमाथि हो । संविधान बन्नु र ओली पहिलोचोटि प्रधानमन्त्री हुनु अघि नै लेखिएकोे उक्त लेखको अन्तिम सार यस्तो थियो – नेपाली राजनीतिका केही भूमिगत गिरोहहरु बेलाबखत ‘हार्डलाइनर नेता’ खोजिरहन्छन् । एक समय उनीहरुले महेन्द्रलाई उक्साए । तुलसी गिरी र ज्ञानेन्द्रलाई उचाले । अहिले त्यो गिरोहले केपी ओलीलाई उक्साइरहेको छ । विपक्षीलाई पेलेर राजनेता हुनुपर्ने सुझाव केपी ओलीलाई हार्डलाइनरहरुले दिइरहेका छन् ।’