पृष्ठ १/१

बिज्ञ देखि ब्रोकर सम्म, ब्रोकर देखि बिज्ञ सम्म

९ महिना अघि
baburd ले
(यस ब्यङ्ग्यात्मक लेख/ब्लग लेखकको बिशुद्द व्यक्तिगत धारणा हो। यसमा नेपालका बिज्ञ र ब्रोकरको अन्तर सम्वन्धलाइ पटाक्षेप गर्न खोजिएको मात्र हो। धेरै बिज्ञहरुको जिवनसंग मेल खान सक्छ, लेखकले क्षमाको अनुरोध गर्दछ ।)

गृहमन्त्रिका सुरक्षा सल्लाहकार यानेकी सुरक्षा बिज्ञ ततकालिन मन्त्री संगै भुटानी शरणार्थी काण्डका मानव तस्करी गर्ने लिस्टमा परे, अर्थात मानव तस्करीका ब्रोकर । एक जना बिज्ञ टेलिभिजन पत्रकारले राजनीतिक बिज्ञ बन्ने भन्दै पेशा परीवर्तन गरेर सफलता हाँसिल गर्दै ठुलै नेता बन्ने संकेत गर्दै छन, उनले अर्का टेलिभिजन बिज्ञ पत्रकारलाई “जोकर” भने, तर धेरै जनता कन्फ्युज छन – “जोकर” हो की “ब्रोकर” हो भनेर ।

“बाह्रभाइ पत्रकारीताका कुरा कति सत्य हुन्छन त्यो पर्नेलाई मात्र थाहा हुन्छ , कहिले काहीं बाह्रभाइका पत्रकारले छिन भरमा कालोलाई सेतो र सेतोलाई कालो बनाइदिन सक्छन” भनि पेशा परिवर्तन गरी राजनीतिमा होमिएका बिज्ञ नेताको भनाईमा सत्याता हुन सक्छ, आखिर दाना-पानीको तागत यत्र-तत्र र सर्वत्र हावी नै छ ।

केमेस्ट्रीको पढाइमा एउटा पपुलर भनाई छः “सवै अल्काली बेस हुन तर सवै बेस अल्काली हैनन्” तेस्तै नेपालका बिज्ञको हकमा यस्तोपो भन्न मिल्लाकीः “सवै ब्रोकर बिज्ञ हुन, तर सबै बिज्ञ ब्रोकर हैनन्” । यो भनाई सवैका लागि सत्य नमानौं किनकी “सबै बिज्ञ ब्रोकर हुँदैनन र सवै ब्रोकर बिज्ञ हुँदैनन” भन्ने पनि केही हदसम्म सत्यनै हुन्छ होला ।

सेक्युरिटी प्रेस, गेटवे आदि काण्डहरु घटिसकेका छन, जहाँ बिज्ञ ब्रोकर बनेका छन वा बनाइएका छन, बिज्ञहरु फसेका छन वा फसाईएका हुन त्यो त अदालतको फैसलाबाट थाहा हुनेनै छ । सरकारी निकायमा काम गर्ने बिज्ञ कर्मचारीहरु आज भोलि “टास्क स्पेसिफिक यानेकी नतिजा मुखी” भएका छन। कानुन, नीति-नियम, औचित्यको वास्तै नगरी “काम चाहीं देखिने नतिजा नदेखिने” यस्ता टेण्डर काण्डहरु घटाएको देख्दा लाग्छ “काम देखाई खाम हात पार्ने” प्रचलनमा बढि बिज्ञता देखिन थालेको छ ।

नेपाल सरकारका सचिव, सह-सचिव पदीय हैसियतमा आँफैमा बिज्ञ हुन । त्यस्तै बिश्वविद्यालयका प्राध्यापकहरु आफैंमा आफ्ना बिषयका बिज्ञ हुन, तर यहाँत आफ्नो मात्र हैन अन्य थुप्रै बिषयका ज्ञाँता हुँ भन्दै खेति सञ्चालन गर्नेहरु प्रसस्त भेटिन्छन् र कहिले काँही आँफै कन्फ्युज हुन्छन् खासमा “कुन बिषयको बिज्ञ भएछु?” भनेर।

हाम्रा विश्वविद्यालयका केही प्राध्यापकहरु त हार्भाड र एमआइटीका प्राध्यापक भन्दानी अब्बल छन्, विश्वविद्यालयको -याङ्क १२/१३ सयमा भएपनि १०० डलरमा नाम दर्ता गराई मुल्याङ्कन गर्ने संस्थाले हाम्रा प्राध्यापकलाई उपलब्ध गराएको टप -याङ्कले विषेश गरी त्रिभुवन विश्वविद्यालयको इज्जत धानिएकै छ ।

बिना रिसर्च फण्ड हाम्रा प्राध्यापकले स्वदेश र विदेशका विश्वविद्यालयहरुमा २०औं, ३०औं मास्टर्स थेसिस र १०औं, १५औं पिएचडी थेसिस एकै समयमा सुपरभाइज गर्ने क्षमता राख्दछन, तेतिमात्र हैन विद्यावारिधिवाला डाक्टरसाब बन्ने प्रचुर चाहना गर्ने नेपालीहरुलाई ब्लाकलिस्टमा परेका बाहिरका विश्वविद्यालयमा सप्लाई गरेर उपाधि प्राप्त गराएकै छन ।

त्रि. वि. को समकक्षता सारै “झनझटिलो भयो, प्रमाणपत्र नै नहेरी समकक्षता दिन पाउनु पर्छ” भन्ने सामाजिक सञ्चालको आन्दोलनले सार्थक रुप पनि लिएको छ, त्रि. वि. ले समकक्षताको नियमनै परिवर्तन गरी सहज पारेको छ। अव मौका आयो है साथीहो, सजिलै स्नातकोत्तर/विद्यावारिधिको उपाधि ल्याउनुस अनि समकक्षता लिई बिज्ञ बन्नुहोस्।

राजनीति गर्नेहरुले मुल्य-मान्यतामा राजनीति गरेका छन वा कुटनीति/कूनीति/ब्रोकरिङ् मात्रै गरेका छन छुट्याउन बडो गाह्रो छ नेपालमा। तेस्तै बिज्ञ बन्न भने निकैनै गाह्रो छ नेपालमा, किन भने बिज्ञता हाँसिल त राजनीति गरेमात्र प्राप्त गर्न सकिन्छ भन्ने सिद्दान्त स्थापित भइसकेको छ। तेसैले त त्रि. वि. लगायत नेपालका विश्वविद्यालयहरुको हालत हामी सबैले देखिरहेकै छौं।

शिक्षक, कर्मचारी र विद्यार्थिहरुका संघ-संघठनहरुले राजनीति बाहेक अरु केही कार्य गरेको जस्तो देखिंदैन, किन भने बिज्ञ जो बन्नु छ। यहाँत बिद्यार्थी संगठनका नेताहरु यति ठुला बिज्ञ भइसकेका छन कि खुलम-खुला चुनौती दिंदै उस्तै परे विश्वविद्यालयका पदीय जिम्मेवारी वहन गरेर सँस्था हाँक्न पछि पर्दैनन्।

अस्पतालका डाक्टरहरु सरोगेसीका बिज्ञ, गर्वपतनका बिज्ञ, मृगौला निकासीका बिज्ञ, सरकारी अस्पतालका अनि नीजिका पनि बिज्ञ। विश्वविद्यालयका प्रायः पदाधिकारीहरु “आँफै रेगुलेटर अनि आँफै अपरेटर,” अनि बन्दैन त अन्तराष्ट्रिय स्तरको अस्पताल र विश्वविद्यालय?

इन्भेन्सन के गरे थाहा छैन तर पनि नेपालका महान बैज्ञानिक महाबिर पुन दिक्क भईसकेका छन आज-भोलि । स्टार्टप कम्पनी खोलेर २/४ वटा वेवसाइट बनाउनेहरु सरकारी निकायका बिज्ञ भएको अवस्थामा उनी जस्तो बैज्ञाकनिकका कुरा कसले सुन्ने? बल्ल-बल्ल आनदोलननै गरेर एक अर्वको बिज्ञ उत्तापदन गर्ने अनुसन्धान कोष त खडा गर्न सफल भय तर हालसम्मको प्रगति सुन्यनै देखिन्छ। संघीय संरचनाका केन्द्र, प्रदेश र पालीकाका हजारौं बिज्ञ जनप्रतिनिधिहरुलाई तलब खुवाउनै हम्मे हम्मे भैसकेको अवस्थामा बिज्ञ उत्पादन कोष खडा गर्नुको कुनै औचित्य नहोला ।

कुनै एक बिषयको बिज्ञ बनिसकेपछि नेपालमा सबै बिषयका बिज्ञ हुन भने सजलो छ है। एकै जना बिज्ञ विश्वविद्यालयका उपकूलपति देखि, बैङ्कका कार्यकारी निर्देशक देखि अध्यक्ष हुँदै जिवनकाल भरी देशलाई थुप्रै योगदान गरेका उदाहरण छन। तेस्तै मेकानिकल इन्जिनियरिङका बिज्ञ, आयल निगम लगायत संस्थाका बिज्ञ हाकिम बने पछि तेही बिज्ञताले बन्छन दूरसञ्चार प्राधिकरणका बिज्ञ हाकिम। यस्ता बिज्ञहरुको बिज्ञताको प्रसस्त नतिजा सहायद हामीले देख्नेनै छौं र देखिरहेकै छौं।

कहिले काहीं आँफुले खोजेको बिज्ञ नियुक्त गर्न नीति नियमले रोक्यो भने मन्त्रिज्यूले नीति-नियममै परिवर्तन गर्दिनुहुन्छ, किन भने देश बिकास त गर्नै प-यो जसरी भए पनि आफ्ना बिज्ञलाई नियुक्त गरेर। जुन बिज्ञको आवश्कता छ, उसैको नियुक्ति जरुरी त पर्छ नै । कहिले साँच्चैको बिज्ञले नियुक्ती लिन्छकी भनेर रोक्नलाई नियम परिवर्तन गरिन्छ भने कहिले आफ्ना बिज्ञ ल्याउन पनि नियम परिवर्तन गरिन्छ, जे होस परिवर्तननै देश बिकासको सम्वाहक हो भन्ने हामीले सवैले बुझेकै छौं।

राजनीतिक बिज्ञता हाँसिल गरेपछि विश्वविद्यालय लगायत बिभिन्न निकायका पदहरु छानी छानी प्राप्त गर्न पाईन्छ। ब्रोकरले प्रायः आर्कैका क्षमता प्रयोग गर्छन र आफ्नो दुनो सोझ्याउँछन। जब कुनै बिज्ञले बिज्ञ बन्न आर्कैका बिज्ञता प्रयोग गर्छ र बिज्ञ स्थापित भई पद प्रतिष्ठा मर्यादाको खेती गर्छ तव नैतिकताको खडेरी हुने नै भयो। तेसैले नेपालका बिज्ञमा नैतिकताको खडेरी त हुनेनै भयो।

सम्विधानमै “समाजवाद” उल्लेख गरेसी सम्विधान बनेदखी देश त समाजवादमा गैसकेकै लगभग ८ बर्ष भइसक्यो। तेसैले आजभोलि सवै पार्टीमा समाजवादी ब्रोकरहरु अर्थात समाजवादका बिज्ञहरुको बाहुल्य छ। “हुने खानेसंग लिने नहुनेलाई दिने” भन्ने समाजवादी नारा परिवर्तन भइसकेर “हुने खानेसंग लिने हुनाखानेलाईनै दिने” भन्ने भइ सक्यो, जुन कुरा पछिल्ला संसदीय चुनाव र समानुपातिक सांसदहरुको छनौटबाटै देखिइसकेको छ।

चुनाव ताका खुवै घन्किन्छन यस्ता नाराहरु - “शिक्षा-स्वास्थ्य फिरी, सवै नेपालीले पैसै नतिरी”, “घर-घरमा ग्याँस, हावाबाट बिजुली”, “पूर्वपश्चिम रेल, कुश्मा स्टेसनमा ठेलमठेल” आदि आदि। युलेन्स र रातो बंगला जस्ता स्कुलमा ९/१० कक्षामा पढ्नेले तिर्छन मासिक ५० हजार भन्दा बढी शुल्क, अनि तिनै उच्च शिक्षामा आएसी सवै फिरी चाहिन्छ भनी चर्का-चर्का नारा लगाएको देखिएकै छ ।

नीजि बोर्डीङ् र कलेज चलाउनेले ठूला-ठूला नारा लगाउँछन यहाँ, “सरकारी पूर्ण शुल्कीय कार्यक्रमका उच्च शिक्षा फिरी नगरे आगो बालिन्छ”। तेसैले “सरकारी क्याम्पस धोस्त पारौं, आफ्ना नीजितिर सारौं”, सहायद यो नारा अहिलेका समाजवादी नेत्तृत्वहरुको मुख-मुखमा झुन्डिएकै होला । उच्च शिक्षा फिरिमा पढौं, अनि उपाधि लिएको भोलिपल्ट बिदेशतिर हिडौं, ब्रोकर बनौं, जिवन रमाइलो संग बिताऔं ।

हाम्रा नेत्रीत्वलाई अहिले सवै भन्दा टेन्सनको बिषय भाको छ - “सवै नेपाली बिदेश पलायन भए” । आफ्ना छोरा-छोरी उ-बेलामा र अहिले पनि बिदेश गइ बसिरहेको खासै टेन्सन छैन, तर जनाताका छोराछोरी बिदेश जाँदा भने बडो टेन्सन भाछ। के गर्नु त, म्यान पावरका ब्रोकरहरु आजभोली समाजवादी भैसकेका छन ।

छेपारोको रंग र उच्च स्तरकै नेता/बिज्ञहरुको पार्टी परिवर्तन गर्ने स्टाइल एउटै खालको छ । आफ्नो जिवनकाल भरी स्थापित एउटा सिद्दान्तमा हिँडेको नेता छिन भरमै आर्को पार्टीको नेता बन्दिन सक्छ। हैन यो के का लागि हो? हुन त समय परिवर्तनशिल छ, बाँच्नका लागि संघर्ष त गर्नै प-यो ।

अन्तमा – अरुको बिज्ञताको प्रयोग गरी भ-याङ् चड्ने काम नगरौं, ब्रोकरिङ नगरौं, आफ्नै बिज्ञता र क्षमतामा बिस्वास गरौं, अरुको क्षमतालाई कदर गरौं, साँच्चैको बिज्ञ बनौं, सूचना-प्रविधिको भरपूर प्रयोग गरौं-पारदर्शिता कायम गरौं, साँच्चैको राजनीति गरौं, देश बिकास गरौं ।

(डा. बाबुराम दवाडी www.baburd.com.np)
corrupt_system.jpg
corrupt_system.jpg (१७२.७५ किबा) १६६१२ पटक हेरिएको