अर्बपति बिल गेट्सले गाईवस्तु डकार्दा उत्सर्जन हुने मिथेन ग्यासलाई कम गर्ने योजना बनाएको जलवायुसँग सम्बन्धित एउटा अस्ट्रेलियाली प्रविधि स्टार्ट-अप कम्पनीमा लगानी गरेका छन्। मिथेन कार्बनडाइअक्साइडपछि सबैभन्दा धेरै उत्सर्जन हुने हरितगृह ग्यास हो। गाई, बाख्रा र हरिण जस्ता जनावरको पेटले घाँसजस्ता कडा कुराहरू पचाउनका लागि मिथेन ग्यास उत्पादन गर्छ। उनीहरूको पेटमा उत्पादन भएको त्यस्तो ग्यास डकारका माध्यमबाट बाहिर आउँछ। विश्वविद्यालयहरूमा गरिएका अध्ययनहरूले गाईलाई सिवीड (समुद्री लेउ वा झार) खुवाउँदा उनीहरूले उत्सर्जन गर्ने मिथेनमा उल्लेखनीय कटौती हुने देखाएका छन्।