भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ। सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले जनाएको छ। भारतको सुचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन्। बिबिसीले गुजरात दंगामा आधारित रहेर वृत्तचित्र बनाएको छ। हिन्दु र मुस्लिमबीचको दंगामा एक हजार बढीले ज्यान गुमाएका थिए। त्यस दंगा नियन्त्रणमा तत्कालीन मुख्यमन्त्रीको हैसियतमा मोदीले प्रभावकारी भुमिका निर्वाह नगरेको र उल्टै दंगा भड्काएको आरोप उनी माथि छ।